
महोत्तरी : राष्ट्रिय प्राथमिकता प्राप्त बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माणको आयोजना अनिश्चिततातर्फ धकेलिदो छ । कलेजको पूर्वाधार निर्माणका लागि जग्गा प्राप्तिको प्रकृया अघि नबढ्दा यो राष्ट्रिय प्राथकिता प्राप्त आयोजनाको काम अनिश्चिततातर्फ डोरिएको हो ।
नेपाल सरकारको आर्थिक वर्ष २०७३/०७४ को नीति तथा कार्यक्रममा समावेश भई मुलुकका सातवटै प्रदेशमा एकएकवटा मेडिकल कलेज स्थापना गर्ने अवधारणाअनुसार प्रदेश-२ मा बर्दिबास मेडिकल कलेज निर्माणको कुराले औपचारिकता पाएर तदनुरुप काम अघि बढ्दै गएका थिए । पाँच वर्षमा पूर्वाधार निर्माणको काम सम्पन्न गरेर कलेज सञ्चालन गर्ने लक्ष भएपनि चार आर्थिक वर्ष सकिदासम्म जग्गाकै टुङ्गो नलाग्दा यो आयोजना अनिश्चिततातर्फ धकेलिएको हो ।
जग्गा छनौट समितिको सिफारिसअनुसार जग्गा छनौट, जग्गाको विस्तृत सर्वेक्षणसहित कलेजको गुरु योजना (मास्टरप्लान) , निर्माणस्थलको माटो परीक्षण र वातावरणीय प्रभाव मुल्याङ्कन (इआइए) सहितका प्राविधिक पक्षका काम सम्वन्धित तह (शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय) बाट स्वीकृत भई सकेका छन् । बर्दिबास-४ को भव्सी खोला र अटावे खोल्सीबीचको ४९ हेक्टर माइस्थान सामुदायिक वनको जग्गा कलेजको पूर्वाधार निर्माणका लागि प्रकृया अघि बढेपनि डिभिजन वन कार्यालय महोत्तरीले त्यस क्षेत्रमा गणना भई सकेका रुख कटान र जग्गा उपलव्ध गराउनेबारे आवश्यक रायसहितको सिफारिस सङ्घीय सरकारको वन मन्त्रालयलाई नपठाउँदा अहिले अन्यौल बढेको हो ।
विक्रम सम्वत् २०७५ साल फागुन-३ गतेको मन्त्रीपरिषद बैठकले तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलबाट त्यसअघि नै स्वीकृत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना सञ्चालन कार्यविधि २०७५ र आयोजना कार्यालय सञ्चालनका लागि कर्मचारीको दरबन्दी अनुमोदन गरेको थियो । यसअनुसार तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेलले बर्दिबास-१ मा २०७६ साल वैशाख १८ गते उद्घाटन गर्नुभएको बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयमा अहिले आयोजना निर्देशक (उपसचिव शिक्षा सेवा) एक, शाखा अधिकृत (रा प तृतीय शिक्षा सेवा) एक, इञ्जिनियर (सिभिल रा प तृतीय) एक, लेखापाल एक, हलुका सवारी चालक एक, कार्यालय सहयोगी एक र पाले एकसमेत सात जनाको जनशक्ति छ । तर जग्गा प्राप्तिकै मुख्य काम अल्झिएपछि त्यसैका लागि बिभिन्न पक्षसँग भेटघाट, सम्वाद , अन्तरकृया र समन्वयका काममा मात्र दुई वर्षभन्दा बढी समय खर्च भई रहेको आयोजना निर्देशक देवीप्रसाद सुवेदी बताउनुहुन्छ ।
“कलेजको पूर्वाधार निर्माणको मुख्य कामका लागि सरकारले खटाएको छ” आयोजना निर्देशक सुवेदी भन्नुहुन्छ, “तर जग्गा प्राप्तिकै कुरा टुङ्गिएको छैन, यस प्रयोजनको दौडधूप र समन्वयमै समय गई रहेको छ ।” पछिल्लो पटक प्रस्तावित जग्गाभित्रका रुख सव डिभिजन वन कार्यालय बर्दिबासले गणना गरी डिभिजन वन कार्यालय महोत्तरीलाई बुझाएको प्रतिवेदन नेपाल सरकार वन मन्त्रालय नपुगुञ्जेल जग्गा प्राप्तिको थप प्रकृया अघि नबढ्ने सुवेदी बताउनुहुन्छ ।
कलेजका लागि प्रस्तावित वनक्षेत्रमा एक हजार ९६७ रुख गणना गरिएका छन् । कलेजका धेरैजसो पूर्वाधार भव्सी नदी तटकै नदीउकास जग्गामा बन्ने हुनाले गणना गरिएका सबै रुख कटान नहुने आयोजना कार्यालयले जनाएको छ । “बर्दिबाससँगै सरकारले मेडिकल कलेजका लागि नीतिगत निणर्य गरेको रुपन्देहीको बुटवल र सुर्खेतका काम अघि बढेका छन्” आयोजना निर्देशक सुवेदी भन्नुहुन्छ, “बुटवलमा पनि बर्दिबासजस्तै प्रकृतिको जग्गा नै प्रस्तावित हो, अझ त्यहाँ त १४ हजारभन्दा बढी रुख भएको वनक्षेत्रमै कलेज निर्माणको प्रकृयाले गति लियो, बर्दिबासमा त ५०० भन्दा तल नै रुख काटिनु पर्ने देखिन्छ , तर प्रकृया अल्झियो ।” जग्गा प्राप्तिका लागि अब प्रकृया अघि नबढे कलेजको पूर्वाधार निर्माणमात्र नभई कलेज स्थापनाको प्रस्ताव नै अन्यौलमा पर्नसक्ने कार्यालयका विज्ञको भनाइ छ ।
कलेजका लागि प्रारम्भमा १०१ हेक्टर क्षेत्रफलको वनक्षेत्र प्रस्ताव गरिएपनि पर्यावरणीय पक्षलाई आत्मसाथ गरी विज्ञहरुको सल्लाहमा ४९ हेक्टर क्षेत्रफलमा झारिएको हो । भव्सी नदी पश्चिमी किनारमा आवागमनको पक्की (कालोपत्रे) सहितको तटवन्ध निर्माण गरी भूक्षय रोक्नुपर्ने, कमसेकम रुख काटिने गरी पूर्वाधार निर्माण गरिन पर्ने, पूर्वाधार निर्माणक्षेत्रमा हरितपार्क बनाउन पर्ने र मिथिला संस्कृति झल्कने सङ्ग्रहालयसहित जैविक विविधता संरक्षण गरिनपर्ने सुझाव प्रदेश-२ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका विज्ञहरु र प्रदेशका आठवटै जिल्लाका डिभिजन वन कार्यालयका प्रमुखहरुबाट सामुहिक छलफलमा प्राप्त भएअनुसार आयोजना कार्यालयले प्रस्ताव संशोधन गरेको सुवेदी बताउनुहुन्छ । यसअनुसार संशोधित विस्तृत परियोजना प्रतिवेदन तयार हुने अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ ।
यसबाहेक बर्दिबास नगरपालिकाले कलेजका पूर्वाधार निर्माण गर्दा काटिन सक्ने रुखका कारण पर्यावरणमा पर्नसक्ने प्रतिकूल असर रोक्न २७ हजार नयाँ वृक्षारोपण यो असारमै गरी सकेको छ । “हामीले यो असारमै २७ हजार बिरुवा रोपी सकेका छौं, आउनै लागेको साउनमा ३० हजार बिरुवा रोप्ने हाम्रो तयारी छ” बर्दिबास नगर प्रमुख विदुरकुमार कार्की भन्नुहुन्छ, “हामीले वनरक्षा , गोडमेल, पुनःरोपण , आवश्यक मल र सिञ्चाइ सुविधाका लागि आवश्यक प्रवन्ध र जनशक्ति नै व्यवस्थापन गरेका छौं ।” वातावरण र पर्यावरणको कुरामा नगर नेतृत्व समवेदनशील रहेको र कलेज पूर्वाधार निर्माणले त्यसलाई बिग्रन नदिन प्रतिवद्ध रहेको कार्कीको थप भनाइ छ । “हामी २०७८ भित्रै हुर्केका ५० हजार नयाँ बिरुवाको वनक्षेत्र डिभिजन वन कार्यालय महोत्तरीलाई हस्तान्तरण गर्ने गरी काममा छौं” नगरप्रमुख कार्कीले भन्नुभयो ।
मेडिकल कलेज बर्दिबासको मात्र नभएर प्रदेश-२ कै राष्ट्रिय महत्वको आयोजना भएको हुँदा यसमा देखिएका सानातिना अड्चन पर्गेल्दै अघि बढ्न पर्ने महोत्तरीका वुद्धिजीवी बताउँछन् । “प्रत्येकजसो विकास निर्माणका काममा केही गतिरोध आउँछन् , मेडिकल शिक्षाको अवसर दिने यो प्रस्तावमा पनि जग्गाप्राप्तिमा समस्या होलान्” बर्दिबास जनता वहुमुखि क्याम्पस बर्दिबासका प्रमुख तोपबहादुर ठकुरी भन्नुहुन्छ, “केन्द्र, प्रदेश र स्थानीयतहका राजनीतिक नेतृत्वले दुरदर्शी सोचका साथ यो प्रस्ताव अघि बढाउन संयुक्त पहलकदमी लिन पर्छ ।”
एक हजार शैयाको आधुनिक प्रविधिका साधन सुविधायुक्त अस्पतालसहितको कलेजको पूर्वाधार निर्माणमा ३० अर्ब लागत लाग्ने विस्तृत परियोजना प्रतिवेदनको हालसम्मको अध्ययनले देखाएको छ । हालसम्म यस आयोजनामा छ करोड खर्च भइसकेको छ । जग्गाका लागि हालसम्म अघि बढेका प्रकृया अवरुद्ध हुँदा अब कलेज नै नबन्ने होकी भन्ने चिन्ता महोत्तरीमा बढेको छ ।
“बर्दिबास मेडिकल कलेज निर्माणको कुरा किन अड्की रहन्छ , यसमा देखिएको ढिलाइले अन्यौल बढाएको छ” जनता समाजवादी पार्टीका नेतासमेत रहनु भएका महोत्तरीकै भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साह भन्नुहुन्छ, “शिक्षाजस्तो विषयमा सानातिना अड्चनले काम अल्झाएर राख्ने कुरा ठिक भएन ।” प्रदेश-२ का पूर्व सप्तरीदेखि पश्चिम पर्सासम्मको जम्मा दुरीको करिब माझमा रहेको, पूर्वपश्चिम राजमार्गसँगै जोडिएको र योबारेको प्रस्तावले बिभिन्न प्रकृया पुरा गर्दै अघि बढेको हुँदा अब यसलाई टुङ्गोमा पुर्याउन समय लम्व्याउन नहुने साहको भनाइ छ ।
यसैबीच जग्गाप्राप्तिको प्रकृया बढाउन हाल डिभिजन वन कार्यालय महोत्तरीमा रहेको फायल अध्ययन र छलफलको क्रममै रहेको डिभिजन प्रमुख विनोदकुमार सिंहले बताउनु भएको छ । “प्रस्तावित क्षेत्रका रुख गणना गरेर सव डिभिजन वन कार्यालय बर्दिबासले प्रतिवेदन पठाएको छ” डिभिजन प्रमुख सिंह भन्नुहुन्छ, “यसबारे अध्ययन, विज्ञ र सरोकारवालाहरुसँग थप परामर्श र छलफल सघन गरिदै छ, सबैसँगको खुलाखुलस्त छलफल गरेर रायसहितको सिफारिस प्रतिवेदन पठाइने छ ।”
कलेजको पूर्वाधार निर्माणमा अहिले जग्गाप्राप्तिको विषय अल्झदा थप कुरा अघि बढ्न सकेको छैन । यो विषयले गति लिनासाथ पूर्वाधार निर्माणको विषयले प्रवेश पाउने र यससम्वन्धी प्रकृया अघि बढ्ने आयोजना कार्यालयले जनाएको छ ।