
पर्वत : बलात्कारको आरोपमा पर्वत प्रहरीले १७ वर्षीया किशोरलाई पक्राउ गरेको छ । दक्षिण पर्वतको पैयुँ गाउँपालिकाका ती किशोरमाथि ३८ वर्षीय महिलालाई बलात्कार गरेको आरोप लागेको छ ।
प्रहरीका अनुसार गत वैशाख १५ गते साँझ ६ बजेतिर खेतमा काम गरिरहेको समयमा महिलालाई किशोरले बलात्कार गरेको जाहेरीमा उल्लेख छ । पीडित महिलाका दाजुले गत शुक्रबार पर्वत प्रहरीमा उजुरी दिएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।
सोही उजुरीका आधारमा प्रहरीले शनिबार किशोरलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पर्वत जिल्ला अदालतबाट आइतबारदेखि लागू हुनेगरी ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ । गोपनीयताका कारण दुवै पक्षको विवरण नखुलाइएको प्रहरीको प्रेस नोटमा उल्लेख छ ।