बर्दिबास : बिभिन्न सामाजिक सङ्घ संस्थामा आबद्ध महोत्तरीको बर्दिबास-१ का दानबहादुर थापा (विष्णु) ले जन्मदिनमा विपन्न रक्त सहायता कोष बर्दिबासलाई आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखा परिसरमा वृक्षारोपण गरेर मनाउनु भएको छ ।

आज बुधबार आफ्नो ४८ औं जन्मदिनमा नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाले स्थापना गरेको विपन्न रक्त सहायता कोष बर्दिबासलाई १५ हजार नगद प्रदान गरेर जन्म दिन मनाउनु भएको हो । उपशाखा कार्यसमिति सदस्य रहनुभएका थापाले मानवीय सेवाको कामले जन्मदिनको सार्थकता हुने बताउँदै सो रकमको चेक सभापति रेवन्त कार्की ‘सुदीप’लाई एक समारोहबीच हस्तान्तरण गर्नुभएको हो । थापाले उपशाखा कार्यालय परिसर हराभरा पार्न बिभिन्न जातका बिरुवा पनि उपलब्ध गराउनुभयो ।

समारोहमा बर्दिबासका नगरप्रमुख प्रल्हादकुमार क्षत्रीसहितका बिभिन्न सामाजिक जीवनका व्यक्तित्वले थापाले जन्मदिन मनाउन रोज्नुभएको क्षेत्र प्रशंसनीय रहेको बताउँदै यसको अनुशरणमा जोड दिन पर्ने बताउनुभएको छ । थापा रेडक्रस उपशाखाका सदस्यका अतिरिक्त बर्दिबास हेल्प फाउण्डेशनका उपाध्यक्ष तथा नेपाल होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका महासचिब हुनुहुन्छ । बर्दिबास हेल्प फाउण्डेशन यस भेगका सामाजिक, शैक्षिक र मानवीय क्षेत्रका काममा सरिक हुँदै आएको संस्था हो । यसले बर्दिबास नगर क्षेत्रका ५० भन्दा बढी विपन्न परिवारका छोराछोरीलाई पठनपाठनका लागि छात्रवृति प्रदान गरेको छ । विश्वभरि कोरोना महामारीले गाँजेको बेला २०७७ हिउँदमा स्थापित यो संस्थाले त्यतिखेर भोका सडक यात्रीलाई खानपान र आबासको व्यवस्था गरेको थियो । यसको संयोजन थापाले नै गर्नुहुन्थ्यो ।

थापाको सम्मतिमा रेडक्रस उपशाखाले आयोजना गरेको जन्मदिन समारोहमा शुभकामना दिने वक्ताहरुले भोजभतेर, तडकभडक र अन्य फजुल खर्चको सट्टा आफ्ना विशेष दिन रचनात्मक तवरले मनाउन सबैसँग अपिल गर्नुभयो । समारोहमा थापाले उपलब्ध गराउनु भएका बिभिन्न जातका बिरुवा नगरप्रमुख क्षत्रीसहितका सभहागीले शुभकामना व्यक्त गर्दै रोप्नु भयो ।

रेडक्रस उपशाखाले अत्यन्त विपन्न परिवारका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने उद्देश्यसाथ विपन्न रक्त सहायता कोष स्थापना गरेको छ । यो कोषलाई सबल बनाउन समाजका बिभिन्न क्षेत्रका व्यक्ति र संस्थाले सहयोग गर्दै आएका छन् ।

 


२०८० जेष्ठ १०, बुधबार १८:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु