बर्दिबास (महोत्तरी) २४ साउन । सडक मानव र अनाथ बालबालिकाको व्यवस्थापनका लागि बर्दिबास-२ मा निर्माण हुने ‘हाम्रो माया घर’ को सहयोगार्थ आयोजित शिवपुराण महायज्ञबाट आज चौथो दिनसम्म दाताहरुबाट ४० लाख बढी नगद प्राप्त भएको छ । गत सोमबार प्रारम्भ भएको महायज्ञबाट आज चौथो दिनसम्म यो परिमाणको रकम प्राप्त भएको शिवपुराण महायज्ञ मूल आयोजक समितिको आर्थिक उपसमितिले जनाएको हो ।
प्रसिद्ध पुराण वाचिका राधिका दासी नेतृत्वको विद्वत टोलीले महायज्ञका कर्मकाण्ड, पाठ पारायण र कथावाचन गर्दै आएको छ । बर्दिबास-१ म आयोजित महायज्ञमा कथा श्रवण गर्न आउनुभएका भक्तहरुबाट हालसम्म ४० लाख नगद प्राप्त भएको शिवपुराण माहायज्ञ मूल आयोजक समितिको अर्थ उपसमितिका संयोजक शम्भुप्रसाद भट्टराइले जानकारी दिनुभयो । महायज्ञस्थल मै आज ‘हाम्रो माया घर’ बर्दिबास समितिका अध्यक्ष कृष्णप्रसाद गौतमसहितका परिवारजनले सात लाख ५० हजार प्रदान गर्नुभएको छ । यसैगरी नगरप्रमुख प्रहलादकुमार क्षत्री र उहाँकी धर्मपत्नी मञ्जु क्षत्रीले आफ्ना स्वर्गीय बाजे दानबहादुर क्षत्रीको स्मृतिमा ‘हाम्रो माया घर’ को भवन निर्माणमा दुई कोठामा लाग्ने खर्चवापत १५ लाख नगदको यसअघि नै घोषणा गरीसक्नुभएको भट्टराईले बताउनुभयो । महायज्ञमा दैनिक हजारौं सङ्ख्याका श्रद्धालु भक्त कथा श्रवणमा सहभागी हुँदै आएका छन् ।
‘हाम्रो माया घर’ बर्दिबास-२ मा १० करोड ६९ लाख ४५ हजार ४७७ को लागतमा निर्माण हुन लागेको हो । बर्दिबास-२ दाताहरुबाट प्राप्त पाँच कठ्ठा १० धुर जग्गामा ‘हाम्रो माया घर’ निर्माण गरिने तयारी बढेको छ । प्राप्त जग्गामा चारैतिरबाट पक्की पर्खालको घेराबेरा भइसकेको छ भने यहाँ बन्ने दुई वटा भवनको विस्तृत परियोजना प्रस्ताव पनि तयार भएको हाम्रो माया घर बर्दिबास समितिका अध्यक्ष कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो ।
बालबालिका र अपाङ्गता मैत्री तथा भूकम्प प्रतिरोधी अत्याधुनिक हाम्रो माया घरका दुई वटा भवन बन्ने विस्तृत परियोजना प्रस्ताव छ । खानेपानी धारा, बिजुली र शौचालय सुविधासहितका दुई भवनमध्ये एउटा दुई तले र अर्को चारतलेमा गरी १२ कोठा हुनेछन् । जसमा सभा भवन, कृडाकक्ष र अध्ययनकक्ष छन् । जम्मा २०० सडक मानव र अनाथ बालबालिकाको बसोबास, खानपान, स्वास्थ्योपचार र सम्भव भएसम्म शिक्षाको प्रबन्धसमेत गरिने समितिले जनाएको छ ।
अहिले महायज्ञको समुचित व्यवस्थापनका लागि हिरालाल गौतमको मुख्य संयोजकत्वमा १९ वटा उपसमिति कार्यरत छन् । महायज्ञ र भवन निर्माणका लागि विभिन्न दाताबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको आयोजकले जनाएका छन् । महायज्ञबाट हाम्रो मायाघर निर्माणार्थ दुई करोड सहयोगको प्रतिबद्धता प्राप्त भएको संयोजक भट्टराईको भनाइ छ । महायज्ञ सञ्चालनमा २५ लाख खर्चको अनुमान गरिएको समितिले जनाएको छ ।
प्रसिद्ध पुराण वाचिका राधिका दासी मुख्य संरक्षक रहनु भएको हाम्रोे माया घर निर्माण सम्पन्न हुन पाँच वर्ष लाग्ने समितिले जनाएको छ । आफ्नै भवन तयार भएर सञ्चालन हुन अघि पनि अनाथ बालबालिका र सडक मानवको अभिभावकत्व भने समितिले लिइरहने र त्यस समयसम्मका लागि इटहरीस्थित माया घरमा व्यवस्थापन गरिने हाम्रो माया घर बर्दिबास समितिका अध्यक्ष कृष्णप्रसाद गौतमले स्पष्ट पार्दै आउनु भएको छ ।