बर्दिबास, १ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आइतबार महोत्तरी आउँदै हुनुहुन्छ । बर्दिबास-३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालय बर्दिबास-३ गौरीडाँडाको स्वणर् महोत्सवमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज बर्दिबास आउन लाग्नुभएको सो विद्यालय प्रशासनले जनाएको हो ।
“प्रधानमन्त्री हाम्रो विद्यालयको स्वणर् महोत्सवको उद्घाटन गर्न आउनुहुने निश्चित भएको छ” विद्यालयका प्रधानाध्यापक रामसकल महतोले भन्नुभयो, “हामी प्रधानमन्त्रीको समुपस्थितिमा स्वणर् महोत्सव भव्यताका साथ सम्पन्न गर्ने तयारीमा जुटेका छौं ।” प्रधानमन्त्रीको आगमनको कुरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजनप्रसाद ढुङ्गाना र विद्यालयका संरक्षक पूर्वमन्त्री गिरिराजमणि पोखरेलले पनि पुष्टि गर्नुभएको छ ।
“हो, प्रधानमन्त्री आज विद्यालयको स्वणर् महोत्सवमा सरिक हुन आउँदै हुनुहुन्छ” विद्यालयका संरक्षक तथा नेकपा माओवादीकेन्द्रका उपमहासचिबसमेत रहनुभएका पूर्वमन्त्री पोखरेलले भन्नुभयो, “प्रधानमन्त्रीको आगमनले यसक्षेत्रको शैक्षिक विकासको मुद्दाले महत्व पाउने छ ।” प्रधानमन्त्री प्रचण्डको दुई साता (१५ दिन) भित्रैको यो दोस्रो महोत्तरी आगमन हुँदैछ । यसअघि नेकपा माओवादीकेन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्ड गत मङ्सिर १९ गते बर्दिबास र जिल्लाकै गौशालाबजारमा पार्टीको कार्यक्रममा सरिक हुनुभएको थियो । प्रधानमन्त्री प्रचण्ड आज अब केही घण्टाभित्रै बिहान ११ बजेसम्म आइपुग्नुहुने विद्यालय संरक्षक पोखरेलले जानकारी दिनुभयो ।
विक्रम सम्वत् २०२९ सालको कात्तिकमा फुसको घेराबेरा गरेर अनौपचारिक पठनपाठन सुरु गरेको विद्यालयले सरकारबाट औपचारिक स्वीकृति भने दुई वर्षपछि २०३१ साल पुस १ गते प्राप्त गरेको थियो । त्यसयता पुस १ गतेलाई नै विद्यालयले स्थापना दिवस मान्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढुङ्गाना बताउनुहुन्छ । स्थानीय समाजसेवी स्व. शारदाप्रसाद ढुङ्गानाको पहलकदमीले स्थापित यो विद्यालय अहिले मधेश प्रदेशकै उम्दा सामुदायिक विद्यालयमा गणना हुँदै आएको छ ।
औपचारिक रुपमा स्थापना भई प्राथमिक तह सञ्चालनमा आएको ३२ वर्षपछि २०६४ सालमा क्रमशः कक्षा थप्दै २०६८ मा पहिलोपटक त्यतिखेरको एसएलसी परीक्षामा विद्यार्थी सरिक गराएको अध्यक्ष ढुङ्गाना सम्झना गर्नुहुन्छ ।
प्राथमिक तहदेखि नै अङ्ग्रेजी माध्यमको पठनपाठन सुरु गराएको यो विद्यालयमा कक्षा १२ सम्मको पठनपाठनका अतिरिक्त प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) को सम्बन्धनमा पशु विज्ञान र बाली विज्ञान विषयको तीन वर्षे डिप्लोमा (स्नातक) कक्षा सञ्चालन हुँदै आएको छ । विद्यालयमा माध्यमिक तह (कक्षा-९ देखि १२ सम्म) मा प्राविधिक धारको पठनपाठन र अभ्यासले व्यावसायिक सीप सिकेर विद्यार्थी आत्मनिर्भर बन्दै गरेका विद्यालयका निवर्तमान प्रधानाध्यापक दिपक बराल बताउनुहुन्छ । समुदायसँग सघन सहकार्य बढाउँदै आएको विद्यालयको गर्विलोपक्ष यसको दैनिक पठनपाठन र व्यवस्थापनमा सकृय सहभागी रहँदै आएका १८ वटा आमा समूह रहेका प्रधानाध्यापक महतोको भनाइ छ ।
माध्यमिक तहमा विज्ञान र प्राविधिक धार (कृषि) को पठनपाठन र अभ्यास गर्दै आएका यहाँका विद्यार्थीले प्रत्येक वर्ष स्थापना दिवसका अवसरमा आफ्नो विज्ञानसम्बन्धी अभ्यास र कृषि उत्पादनको प्रदर्शनी गर्दै आएका छन् । विद्यालय स्थापना दिवसका अवसरमा केही वर्षयता विज्ञानका छात्रछात्राले बनाएका ‘ड्रोन’ उडान र कृषि उत्पादनको प्रदर्शनी निकै चाखलाग्दो रहँदै आएको बर्दिबास-३ गौरीडाँडाकै बासिन्दा गीता खतिवडा सम्झनुहुन्छ । विद्यालयले स्वणर् महोत्सवको अवसरमा यो हुँदै आएको प्रदर्शनीलाई अझ दर्विलो रुपमा प्रस्तुत गर्ने र स्वणर् महोत्सव स्तम्भ उद्घाटन गराइने कार्यक्रम रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढुङ्गानाले जानकारी दिनुभयो ।
हाल दुई हजार ३५० विद्यार्थी रहेको विद्यालयमा ७९ जना शिक्षक र कर्मचारी कार्यरत छन् । ‘लुन मेरो बच्चालाई नाम लेखाइदिन भनिदिन पर्यो’ इष्टमित्र र सर्वसाधारण अभिभावकले आपूmलाई फोन गरेर यस्तो अनुरोध गर्दा विद्यालयले केही गर्दैछ भन्ने विश्वास जागेको संरक्षक पोखरेल बताउनुहुन्छ ।
सामुदायिक यो विद्यालयमा टाढाटाढाका विद्यार्थी पढ्न आएका छन् । जिल्लाकै सुदुर दक्षिणी भेगका अभिभावक ससाना आफ्ना नानीको खानपान र बसोबास व्यवस्थापनमा आफैं डेरा जमाएर बसेका गौरीडाँडामा बाक्लै भेटिने बर्दिबास नगरपालिकाका पूर्वप्रमुख विदुर कार्की बताउनुहुन्छ ।