शर्मिला घिमिरे,
बर्दिबास (महोत्तरी) ३ मङ्सिर ।
प्रत्येक दिन महोत्तरीको बर्दिबास–२ बुद्धचोककी ६० वर्षीया जयकलादेवी मुखियाका लागि पछिल्ला १० वर्षयताका दैनिकी उस्तै छन् । बिहान हरिया मकैका घोगा किन्ने र दिउँसो बर्दिबासचोकको औरहीरोडको सडक पेटीमा मकै पोलेर बेच्ने ।
यो ब्यापारका लागि स्थायी पुँजी भनेको ठूलो फलामे तावा हो । त्यसपछि दिनहुँ किन्न पर्ने मकैका घोगा र पोल्न चाहिने कोइला (दाउराको अँगार) यसका आवश्यक प्रबन्ध हुन् ।
“उमेरले तीन बिस (६०) टेके नानी, बुढो भइयो भन्न पाइएको छैन” सडक पेटीमा मकैका घोगा फिजाएर तावामा कोइला सल्काउन व्यस्त मुखियाले भन्नुभयो, “पापी पेटको सवाल छ, नगरे भरे मुखमा माड लाग्दैन ।” यसअघि बर्दिबास वरपर नै मकै पाइएपनि अबभने सर्लाहीको लालबन्दी बजार पुग्नु परेको उहाँको भनाइ छ ।
“कोइला त २०/२२ दिनलाई पुग्ने एकपटक ल्याए हुन्छ, तर हरिया मकै त सुकी हाल्छन्” उहाँ भन्नुहुन्छ, दिनहुँ धाएर लालबन्दी बजार पुग्नपर्छ ।” बर्दिबासबाट ३० किलोमिटर दुरीको लालबन्दी जानआउनमै दिनहुँ २०० रुपैयाँ त बस भाडामै लाग्ने गरेको उहाँ बताउनुहुन्छ ।
दुई दशकअघि आफू र चार छोरालाई घर छाडेर कमाउन भारतको पञ्जाव गएका पति सत्यनारायणको उतै मृत्यु भएपछि जयकलाका दुखः र सङ्घर्षका दिन सुरु भए । “घरको आस उहाँ (पति) नै हुनुहुन्थ्यो, उहाँ बितेपछि एकपछि अर्को बिपत्ति खेप्नु पर्यो” मुखिया भन्नुहुन्छ, “दुई भाइ हुर्केका छोरा कालले चुडेर लग्यो, अर्को २५ वर्षे लक्का जवान छोरो हराएको १५ वर्ष बित्यो, यी सबै खेपेर यो बुढो शरीर काममा जोत्नु परेको छ ।” घरमा भएको एउटा छोरो पनि कुनै आर्जनको काममा नलाग्दा बुहारी र छोरालाई आफैंले पाल्नु परेको मुखियाको दुखेसो छ ।
“पति मरेर गए, छोराहरुले राम्रो डिक समाएनन् , दुई छोरा रक्सीको कुलतले मरे, एउटा हरायो” रुँदै जीवनमा पाएको दुःख सम्झदै भक्कानिदै मुखिया भन्नुहुन्छ, “खै समयले मसँग केके जाँच लिदैछ ?”
पतिको मृत्युपछि बाँच्नका लागि घर बाहिर निस्किएकी मुखियाले सुरुका वर्षमा घर बनाउने मिस्त्रीको जन भएर इटा, बालु, ढुङ्गा बोकेर गुजारा चलाउनुभयो । अर्काको अधीनको ज्यालादारी कामले गुजारा धान्न सकस परेपछि सडक पेटीमै मकै पोल्ने निधो गरिएको उहाँले बताउनुभयो ।
“पुँजी त खासै के लाग्यो र ? उउटा तावा किने, कोइला पहिलोचोटी घर नजिककै आरनबाट उधारोमा पाएँ, बस् सुरुमा १०० घोगा मकै किन्न अलिकति पैसा चाहियो, त्यो बन्दोबस्त गरेर सुरु गरीहाले”मुखिया यो व्यवसाय थालेको सुरुका दिन सम्झदै भन्नुहुन्छ ।

गुजाराका लागि रोजेको यो पेसापनि डराइडराइ गर्नु परेको मुखियाको अनुभव छ । सडक पेटीमा मकै पोल्दै गर्दा कतिपय दिन नगरपालिकाका कर्मचारी ‘लु हटाउ’ भन्दै हुर्मत लिन्छन् । ‘बाबुराजा’ भन्दै आफूले यातायातमा असर नपुग्ने गरी पेटीको एक छेउमा केहीबेर गुजाराका लागि त हो भन्दै थुमथुम्याएर चित्त बुझाउनु परेको उहाँ बताउनुहुन्छ । “अन्त सामान नै फाली दिन्छन् रे भन्ने सुन्छु , तर यहाँ त्यस्तो दुष्ट्याइँ भने गरेका छैनन्” मुखिया नगर कर्मचारीप्रति सहिष्णुभाव राख्दै भन्नुहुन्छ ।
सुरुमा एक हजार जतिको पुजीले सुरु गरेको यो व्यवसायले आफूलाई टिकाएको मुखियाको अनुभव छ । “अहिले दैनिक सालाखाला ४०० घोगा मकै पोलेर बेच्छु , साँझ घर फर्कदा आफ्नो भागमा (नाफाको) एक हजारमाथि नै हुन्छ” मुखियाले भन्नुहुन्छ, “यसले घर गुजारा चलाएर टोलछिमेकमा सानोतिनो अर्कोपर्को टाल्नसमेत सहयोग गर्न भ्याएकी छु ।” कसैलाई दुःख पर्दा सानोतिनो सहयोग गर्न पाउँदा पाइने खुसी नै आफ्नो पेसाका लागि ऊर्जा बन्ने गरेको मुखिया भावुक हुँदै बताउनुहुन्छ ।
मुखिया आफ्नो कामप्रति लगाव र समर्पित स्वभावकी भएकी छिमेकीहरुको प्रतिकृया छ । “उहाँ काम नगरी बस्न सक्नुहुन्न, अनि एकदमै सहयोगी हुनुहुन्छ” उहाँकै छिमेकी गायत्री उपाध्याय भन्नुहुन्छ, “छरछिमेकमा पर्ने काममा सहयोग गर्नुहुन्छ ।”
बर्दिबासचोक क्षेत्रमा मुखियाजस्तै मकै पोलेर गुजारा गर्ने पेसाका अन्य महिला पनि भेटिन्छन् । यसरी चोक क्षेत्रमा भेटिने यो पेसाका महिला अधिकांश पति नभएका र घरको प्रतिपाल आफ््नै काँधमा भएका भेटिन्छन् ।
बर्दिबासको औरहीरोडमै छिमेकको मिथिला–१० लालगढकी ५० वर्षीया सरिता दास पनि मकै पालेर बेच्ने गर्नुहुन्छ । लाउँलाउँ खाउँखाउँको उमेरमै पति गुमाउनु भएकी दासले मकै पोलेर बेचेरै घर गुजारा धान्नसँगै एकमात्र सन्तान छोरीलाई पढाउँदै हुनुहुन्छ । “मैले त अक्षर चिन्न पाइन, तर छोरीलाई पढाइलेखाइ गराएर ठूलो मान्छे बनाउने धोको छ” दास भन्नुहुन्छ, “यही सपनाले मलाई काममा जाँगर दिन्छ ।”
यसैगरी बर्दिबास मुख्यचोकमै सडकपेटीमा मकै पोलेर बेच्ने मिथिला–१० लालगढकै ५० वर्षीया अघनीया महरा आफूले यसै कामको आर्जनबाट दुई छोरीको विवाह गराएको र अब छोरालाई विदेश कमाउन पठाउने खर्च जोहो गरी रहेको बताउनुभयो । “श्रीमानको बित्नु भएको २० वर्ष नाघ्यो, दुई छोरी र एक छोरासहितका तीन सन्तान हुर्काएँ, छोरीहरुको बिहादान पनि भयो” महरा भन्नुहुन्छ, “अब छोरा विदेश कमाउन जान्छु भन्दैछ, त्यो खर्च जुटाउन लागेकी छु ।” घरमा अहिले आफू, छोरा/बुहारी र एक नातिसहित चार जनाको परिवार यही पेसाले चलेको महराको भनाइ छ ।
“छोराबुहारी आज्ञाकारी र सहयोगी छन्, सन्तुष्ट छु”उहाँ भन्नुहुन्छ, “कोहीकोही चिन्नेहरुले मलाई तल्लो जातकी भएर मकै पोल्ने भनेर हेला गर्छन्, यो सुन्दा भने रुन आउँछ ।” महरा मधेशको चमार जातिकी दलित समुदायकी हुँदा कसैकसैले यसै कुरामा हेप्ने गरेका उहाँको दुखेसो छ ।
सडक पेटी प्रयोग गर्ने यो पेसाका महिलालाई हेप्ने र ठाउँ छोड्न भन्नु भन्दापनि व्यवस्थापनमा नगरपालिका र उद्योग वाणिज्य सङ्घले सघाउन पर्ने बर्दिबासका युवा बताउँछन् । “यिनीहरु गरेर खानुपर्छ भन्ने सोचका छन् , यिनलाई नगरपालिका र उद्योग वाणिज्य सङ्घले ठाउँ व्यवस्थापनमा सघाउन पर्छ” बर्दिबासचोककै सामाजिक अभियानी २५ वर्षीया सविना लामगादे भन्नुहुन्छ । मकै पोल्ने ठाउँ नगरको सौन्दर्यका रुपमा लिएर यसलाई व्यवस्थित गरिन पर्ने आम युवाको मत पाइन्छ ।



