महोत्तरी, ११ पुस ।
पुसको छिप्पिदो जाडोबीच महोत्तरीसहित मधेश प्रदेशका होटल तथा पर्यटन व्यवसायीको चहलपहल बढेको छ । अन्तर्राष्ट्रिय प्रचलनको इश्वी सम्वत्को नयाँ वर्ष सुरु हुन एक साता अघिदेखि नै महोत्तरीसहित मधेशका होटल तथा पर्यटन व्यवसायी अतिथि सत्कारको तयारीमा जुटेका हुन् । अहिले बर्दिबासमा नयाँ वर्ष आगमनको स्वागतका लागि होटल वयवसायी तन्मयसाथ लागेका देखिदाे छ ।
आउने नयाँ वर्ष सन् २०२६ को प्रारम्भलाई मनोरञ्जनपूर्ण र मधेशको अतिथि सत्कारको परम्परा परिचय विस्तारका लागि होटल तथा पर्यटन व्यवसायीले अहिलेदेखि नै विशेष तयारी थालेका हुन् । यसपालि इश्वी सम्वतको नयाँ वर्ष यही पुस १७ गते परेको छ । बर्दिबासमा अहिले होटलहरुले साँस्कृतिक कार्यक्रमदेखि कहलिएका मधेशका विभिन्न परिकार एकै ठाउँमा दिने तयारी गरेका छन् ।
“हामी अतिथिको स्वागतका लागि अहिलेदेखि नै तयारीमा छौ” नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतम भन्नुहुन्छ, “हामी अतिथिका लागि नयाँ वर्ष विशेषको समारोह विशिष्ट र पछिसम्म सम्झनलायक बनाउने छौं ।” होटल व्यवसायीको नयाँ वर्ष तयारीले अत्यधिक चिसोले सुनसान झैं बनेको बजारु चहलपहल बढाउँदै लगेको छ ।
इश्वी सम्वत्को नयाँ वर्षका दिन रमाइलो गर्न महोत्तरीको सुदुर उत्तरी चुरे काछ नजिकको बर्दिबास मधेशकै विभिन्न जिल्ला र छिमेकी मित्रराष्ट्र भारतका सीतामढी, शिवहर, मुजफ्फरपुर, दरभङ्गा, मधुवनी र झञ्झारपुर जिल्लासम्मका अतिथिको गन्तव्य रहँदै आएको छ । “चुरे पाहाडी शृङ्खला नजिकका ठाउँहरु अतिथिले .रुचाउँदै आएका छन् , प्रकृतिले दिएको यो हाम्रो ठाउँको वरदानलाई हामी नयाँ वर्ष उत्सवमा विशिष्ट बनाउन लागी परेका छौं” होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर खड्का भन्नुहुन्छ, “हामीले सबै होटल तथा पर्यटन व्यवसायी साथीहरुलाई यस अवसरमा अतिथिको हार्दिक स्वागतका लागि अपिल गरेका छौं ।”नयाँ वर्षको अवसर पारेर यहाँका होटलले अहिलेदेखि नै आकर्षक तयारी थालेका छन् । होटल परिसर रङ्गरोगन, विभिन्न परिकारको प्रचारप्रसार र आआफ्ना ठाउँका पर्यटकीय गन्तव्यहरुको सरसफाइको कामलाई व्यवसायीले तत्परताका साथ अघि बढाएका छन् । “इश्वी सम्वत्को नयाँ वर्ष हाम्रा लागि खास अवसर रहँदै आएको छ, त्यसकारण यो तयारीमा मधेशका सबै जिल्लाका होटल तथा पर्यटन व्यवसायी जुटेका छौ” बर्दिबास नगर कार्यपालिकाको कार्यालयका संस्कृति तथा पर्यटन प्रबद्र्धन समितिका संयोजकसमेत रहनुभएका महासङ्घ मधेश प्रदेश अध्यक्ष गौतम भन्नुहुन्छ, “यस अवसरलाई हामी मधेशका परिकार, संस्कृति र यहाँका पर्यटकीय गन्तव्यको प्रचारप्रसारको अवसरका रुपमा लिएका छौं ।”
अहिले खासगरी नयाँ वर्षको अवसरमा भारतीय पर्यटकको आकर्षणका लागि होटल व्यवसायीले आआफ्ना प्रतिष्ठानमा नयाँ वर्षकेन्द्रित रङ्गरोगन, मिथिला कला झल्कने भित्तेचित्र र विविध मनोरञ्जनात्मक कार्यक्रमको तयारी गरेका छन् । खासमा यो नयाँ वर्षमा छिमेकी मित्रराष्ट्र भारतबाट पर्यटक निकै आउने हुँदा एक साताभन्दा पहिलेदेखि नै अतिथिको आकर्षणका लागि विशेष कार्यक्रम बनाइएका नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशका कोषाध्यक्ष दानबहादुर थापा बताउनुहुन्छ ।
“अहिले मधेशका पूर्व सप्तरीदेखि पश्चिम पर्सासम्मका आठवटै जिल्लामा नयाँ वर्ष विशेषको तयारीमा सम्पूर्ण होटल तथा पर्यटन व्यवसायी जुटेका छन्” थापा भन्नुहुन्छ, “मधेशमा कलैयाको सेकुवा, रौतहटको कटिया, जनकपुरको ललन माछा, बरमझिया (सप्तरी) को पेडा, कठाल (धनुषा)को दही र यहाँका ठाउँठाउँका विभिन्न मिष्टान्न परिकार चर्चित छन् , यस अवसरमा यी परिकारको स्वाद चखाएर अतिथिले सम्झी रहने बनाउन हाम्रो प्रयत्न छ ।” बर्दिबासका होटल व्यवसायीले अहिले यी सबै परिकारको साझा स्टल बनाउँदैछन् ।
पुस लागेसँगैको ह्वात्तै बढेको चिसोसँगै इश्वी सम्वत्को नयाँ वर्ष नजिकिदै गर्दा मधेशका होटल व्यवसायी अहिले दिनदिनै नयाँनयाँ आकर्षण थप्दैछन् । “मधेशका सबै जिल्लाका आफ्ना विशिष्ट पहिचान छन् , नयाँ वर्ष सन्दर्भ पारेर हामी अतिथिलाई स्वादिष्ट परिकार पस्कनसँगै आत्मीय व्यवहारले रिझाउन प्रदेशभरिकै होटल तथा पर्यटन व्यवसायीहरु विशेष तयारीमा जुटेका छौं” महासङ्घका प्रदेश अध्यक्ष गौतम भन्नुहुन्छ, “यस अवसरमा हामी अतिथिहरुलाई यहाँका पर्यटकीय गन्तव्यको पनि अवलोकन गराउने छौं ।” यो नयाँ वर्ष मधेशका होटल तथा पर्यटन व्यवसायीका लागि आफ्नो परिचय विस्तारको खास अवसर रहँदै आएको हुँदा यसको तयारी सबैका लागि विशेष बन्ने गरेको गौतमको भनाइ छ ।
अध्यक्ष गौतमले नयाँ वर्ष उत्सवमा मधेशका जिल्लाहरुको अवलोकनका लागि मुलुकका र छिमेकी मित्रराष्ट्रका आगन्तुकसँग अपिल गर्नु भएको छ । यसले मधेशको पर्यटन प्रबद्र्धनमा योगदान दिने उहाँको ठम्याइ छ । त्यसैले पर्यटकीय गन्तव्यको सम्भार र सम्बद्र्धनमा स्थानीयतह र राज्यका अन्य निकायको पनि पहलकदमी बढ्न पर्ने होटल तथा पर्यटन व्यवसायी बताउँछन् ।
होटलमै आउने पर्यटकबाहेक नयाँ वर्षको अवसरमा चुरेकाछका मनोरम वनक्षेत्रभित्र वनभोज (पिकनिक) खान आउने पनि निकै हुन्छन् । यो बेला वनभोजस्थलको सम्भार, सरसफाइ र संरक्षणको पहलकदमीका लागि राज्यका निकायले ध्यान दिन पर्ने होटल तथा पर्यटन व्यवसायीको धारणा छ ।

