महोत्तरी, २६  पुस  ।
मधेशमा प्रत्येक वर्ष सौरमासको माघ सङ्क्रान्तिका दिन मनाइने तीलासक्रायत पर्वले छोपी सक्यो । तर नजिकिदै गरेको तीलासक्रायत (माघेसङ्क्रान्ति) पर्वमा तील बेचेर चाड मनाउने सोचेका महोत्तरीका  किसानमा छटपटी छ । पुस पहिलो साताभित्रै काटेर खलोमा राखेको तीलका कोसाबाट दाना निस्कन घाम लाग्नु पर्छ । घामले सुकेर कोसा फुट्दै दाना निस्कन थालेपछि किसान तील झार्छन् । तर यसपालि घाम नलागेर कोसा नसुक्दा तील तयार हुन नसकेको किसान बताउँछन् ।
तीलासक्रायत पर्वका लागि तीलको माग हुने हुँदा किसान यसताका यो फसलबाट नगद आर्जनको योजना बुनेका हुन्छन् । तर यसपालि पुस पहिलो सातादेखिकै लगातारजस्तो  शीतलहरले तीलका कोसा नसुक्दा दाना झार्न नपाएर पर्वमा बेच्न नपाउने चिन्ताले किसानको छटपटी अहिले बढेको हो । पर्व आउन अब केही दिनमात्र  बाँकी छँदा किसानमा तील तयार गर्न नसकिएको पिरोलो बढेको हो ।
“पुस सुरुतिरै तील काटेर खलोमा फिँजाइयो, त्यसयता आकलझुकलबाहेक  घाम लाग्न पाएन” बर्दिबास–७ मनहरिपुरका किसान निरबहादुर खत्री भन्नुहुन्छ, “तीलासक्रायत पर्वअघि तील बेचेर चाडवाडको जोहो गर्ने चाँजो यसपालि बिग्रियो ।” पुस चौथो साता बित्दै गर्दासम्म  चुट्न नपाइएको तील अब घाम लागेपनि सुक्न केही दिन लाग्नेहुँदा पर्वको बजार भ्याउने छाँट टुङ्गिएको उहाँ निरास हुँदै बताउनुहुन्छ ।
खत्रीजस्तै बर्दिबास–९ पशुपतिनगर बनरझुल्लाका किसान महेन्द्र महतोले पनि तील चुट्न नपाएको छटपटी व्यक्त गर्नुभयो । “तीलासक्रायत पवनी (पर्व) त आइ नै हाल्यो, तील बेचेर पवनीका सामान जोहो गरौला भन्ने थियो, यो लामो कुहासा (शीतलहर, बाक्लो हुस्सु लागेको अवस्था) ले सोचेका कुरा केही हुन दिएन । पुस ३ गतेयता महोत्तरीका सबैजसो भेगमा बाक्लो हुस्सु लाग्दै आएको छ । यसअवधिमा पटकपटक गरेर चार/पाँच दिन बेलाबेलामा घाम लागेको सर्वसाधारण सम्झन्छन् । यो जारी सातामा पनि गत मङ्गलबार घाम देखिदा अब मौसम सुध्रला भन्ने आस पालेका किसान त्यसयताको झन बाक्लो हुस्सु र चिसो सिरेटोले दिक्क मानेका छन् । आज शनिबार त झन् बाक्लाे हुस्सुले अपरान्हसम्म पनि छाडेकाे छैन ।
किसानको यो चिन्ताबीच पर्वका लागि तीलको जोहोमा रहेका उपभोक्ता पनि पिरोलिएका छन् । पर्वले छोपी सकेपनि अहिलेसम्म मुख्य सामान तीलकै जोहो नभएको उपभोक्ता बताउँछन् । “नयाँ तील किसानले झार्न नपाउँदा बजारमा अहिले पुरानै तील ब्यापारी चर्को मूल्यमा बेच्दैछन् , नयाँ तील आउनसके बजार भाउ अलि सुविस्ताको हुने आस थियो” भङ्गाहा–४ रामनगरकी कञ्चनीयाँ मुखिया भन्नुहुन्छ, “तील ल्याएपछि पनि छाँट्ने , सुकाउने गर्न तीन/चार दिन लाग्छ, यसपालि खै पवनी कस्तो हुने हो ?”
मधेशका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा तीलासक्रायत मुख्य पर्व मानिन्छ । यस पर्वमा तीलको महत्व धेरैहुँदा त्यसअघि यो फसलले राम्रो मूल्य पाउने किसानले आस पालेका हुन्छन् । तर काटेर राखेको डाँठसहितको तीलका कोसा घाममा सुकेर आफैं फुट्न थालेपछि चुट्दा दाना झर्छ । तर यसपालि सुक्नुको साटो पानी परे झैं रातभरि पर्ने ओसले लच्छ्र्प्प भिजाएपछि तीलको कोसामै ढुसी पर्न थालेको भङ्गाहा–४ रामनगरका किसान शुभनारायण ठाकुर बताउनुहुन्छ ।
“हेर्नोस् न, यो कहिले सुक्नु र तील झार्नु ? पवनीको तीन/चार दिन पहिले नबिकेको तीलले त्यसपछि भाउ पाउँदैन” ओसले लच्छ्र्प्प भिजेको डाँठमै रहेको तील देखाउँदै ठाकुरले भन्नुभयो, “तीलको आम्दानीले पर्व टार्ने अब धोको पूरा हुने छाँट छैन ।” जिल्लाको उत्तरी क्षेत्रको रुखो र पाखे बारी भएका गौशाला, बर्दिबास र भङ्गाहा नगरपालिका क्षेत्रका जग्गामा तील बाली बाक्लै लगाइन्छ ।
तीलासक्रायत पर्वमा मिथिला क्षेत्रमा तीलका परिकार अनिवार्य मानिन्छन् । मुख्यत यता तीलको लाई (सख्खरको खुँदोमा भुटेको तील मुछेर बनाइने लड्डु) पर्वको मुख्य परिकार मानिन्छ । घरघरै बनाइने यो परिकारका कारण यस पर्वअघिका पाँच/सात दिन यस क्षेत्रका सबैजसो हाटबजारमा तीलको भाउ आकासिन्छ । यस्तै ताक (बेला) पर्खेका किसान यसपालि भने लामो शीतलहरले तील झार्न नपाएपछि विलखबन्द परेका छन् ।
“तील बेचेर केके घरचाँजो मिलाउँला भन्ने थियो” गौशाला–१० बटौवाका किसान अरुण कुशवाहा भन्नुहुन्छ, “यसपालि तील झार्न नपाउँदा आफ्नै घरकाे पर्वका लागि पनि किनेर ल्याउनु पर्ने पो भयो ।” पर्वमा सामान्यतया नयाँ तील प्रयोग गरिने परम्परा भएपनि यसपालि सिङ्गै मधेशमा लामो शीतलहर परेको हुँदा किसानले तील झार्न पाएका छैनन् । यसले गर्दा बजारमा गत वर्षकै तील ब्यापारीसँग लिनपर्ने अवस्था बनेको पर्वको तयारीमा रहेका सर्वसाधारण बताउँछन् । तीलासक्रायत पर्वमा तीलका लाई खाने, तील दान गर्ने, तीलकै भष्मको कालो टिका लगाउने र तीलकै झिक्रा बालेर आगो ताप्ने मैथिल परम्परा छ ।
तील हिन्दू सनातन परम्परामा अत्यन्त धार्मिक महत्वको बाली हो । तीलासक्रायत पर्वमात्र नभएर वर्षभरिकै पितृकार्य र शुभकार्यहरुमा तीलबिनाको सङ्कल्प नै नहुने हुँदा यसले धार्मिक महत्व पाएको हो । कतिपय सन्दर्भमा त तीलासक्रायतका दिन प्रयोग नभएको तील धार्मिक कार्यमा पछिसम्म नचलाउने समेत ठाउँठाउँको चलन रहेको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउनुहुन्छ ।


२०८२ पुष २६, शनिबार १९:४३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय