महोत्तरी, १३ फागुन ।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा महोत्तरीका भारतीय समिावर्ती नाका चार दिन बन्द हुने भएका छन् । निर्वाचनलाई स्वच्छ , निष्पक्ष र भयरहित सम्पन्न गर्न सीमाक्षेत्रबाट हुनसक्ने अवाञ्छित गतिविधि रोक्न यही आउने आइतबार (फागुन १७ गते) मध्यरातदेखि फागुन २१ गतेसम्म चार दिन सीमा नाकाको आवागमन पूर्ण रुपले बन्द गरिने जिल्ला सुरक्षा समितिले जनाएको हो ।

“हामीले निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै फागुन १७ गतेदेखि २१ गतेसम्म चार दिन जिल्लाका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेका छौं” जिल्ला सुरक्षा समितिको निर्णय सुनाउँदै समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भन्नुभयो, “निर्वाचनका बेला सीमाक्षेत्र हुँदै अवाञ्छित व्यक्ति र समूहको प्रवेश रोक्न यो निर्णय गरिएको हो ।” यसबारे सीमा जोडिएका भारतका मधुवनी र सीतामढी जिल्लाका भारतीय प्रशासकसँग पनि समन्वय गरिएको उहाँको भनाइ छ ।

महोत्तरीसँग भारतका मधुवनी र सीतामढी जिल्लाका सीमा जोडिएका छन् । मधुवनीसँग यताको मटिहानी नगरपालिका र सीतामढीसँग जलेश्वर एबं मनराशिशवा नगरपालिका तथा एकडारा, सम्सी र सोनमा गाउँपालिकाको सीमा जोडिएको छ । भारतसँग जोडिएको जिल्लाको सीमाक्षेत्र करिब ३९ किलोमिटर लम्बाइ रहेको प्रजिअ यादवले बताउनुभयो ।

यसैगरी जिल्ला सुरक्षा समितिले फागुन १८ देखि २१ गते मतदान सम्पन्न नहउञ्जेल भारतीय नम्बरप्लेटका सवारी साधन जिल्लाभित्र प्रवेश गर्न नदिइने निर्णय गरेको छ । यस्तै समितिले निर्वाचन सुरक्षा प्रयोजनमै फागुन १५ गतेदेखि २१ गतेसम्म जिल्लाभरि मदिराको विक्री वितरण र प्रयोगमा बन्देज लगाएको छ । सीमा नाका हुँदै मदिराको ओसारपसारलाई निस्तेज गर्न नियमित सुरक्षा अनुुगमन भइरहेको प्रजिअ यादवले स्पष्ट पार्नुभयो । निर्वाचन अवधिमा ध्वनि प्रदुषण बढाउने र अनावश्यक होहल्ला सिर्जना गर्ने डिजे बाजा बजाउन जिल्ला प्रशासनले पूर्ण निषेध गरेको छ ।

यसैगरी निर्वाचनको निष्पक्षता र स्वच्छतालाई मध्यनजर गर्दै जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबैपक्षसँग घोषित निर्वाचन आचारसंहिताको पूर्ण परिपालनाका लागि अपिल गरेको छ । “हामीले निर्वाचनका लागि मनोनयनपत्र दर्ता भएसँगै विभिन्न चरणमा भएका सर्वपक्षीय बैठकमा आचारसंहिता परिपालनाको विषय महत्वका साथ उठाउँदै आएका छौ, स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गर्न सबैपक्षबाट यसको पालना हुनपर्छ” मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारी भन्नुहुन्छ, “विभिन्न चरणका सर्वपक्षीय बैठकमा राजनीतिक दल र उमेद्वारबाट सोअनुरुप प्रतिबद्धता व्यक्त भएको छ, हामी सबैपक्षसँग यसको परिपालनाका लागि अनुरोध गर्दछौ ।”

निर्वाचन अभियानकै क्रममा आचारसंहिताको विभिन्न क्षेत्रबाट हुनसक्ने उलङ्घनका घटनाबारे पूर्वसतर्कता अपनाइएको उहाँको भनाइ छ । “हामीले सामाजिक सञ्जालमा व्यक्त हुने घृणास्पद अभिव्यक्ति र भ्रामक सूचनालाई कार्वाहीको दायरामा ल्याइने स्पष्ट पारेका छौं” उहाँले भन्नुभयो, “यस्तो अवस्था आउन नदिन सबैले संयम बन्नु पर्दछ ।” यसबारे जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको निर्वाचन आचारसंहिता अनुगमन समितिले निगरानी गरिरहेको अधिकारीले स्पष्ट पार्नुभयो ।

यसैगरी निर्वाचन अभियानकै क्रममा कुनै उमेद्वारले असुरक्षित महसुस गरे जिल्ला सुरक्षा समितिमा सुरक्षा माग गर्न समितिले जनाएको छ । यस्तो जानकारी सम्बद्ध व्यक्ति वा दलबाट आए उपयुक्त सुरक्षा व्यवस्था गरिने प्रजिअ यादवको भनाइ छ ।

यसबाहेक जिल्लाका चारवटै प्रतिनिधिसभा क्षेत्रका २५८ मतदानस्थलको सुरक्षा प्रबन्धका लागि आवश्यक जनशक्ति परिचालित भइसकेको जनाउँदै प्रजिअ यादवले सबै ठाउँमा नियमित सुरक्षा गस्ती बढाइएको जानकारी दिनुभयो ।


२०८२ फाल्गुन १३, बुधबार १२:५०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय