बर्दिबास, (महाेत्तरी), ३ जेठ ।
अब विद्यालयको शिक्षक बन्ने सपना छ, त्यसका लागि मेहनत गर्छु” गतसोमबार साँझ प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइइ) को परिणामले हौसिएकी बर्दिबास–१४ मुसहर बस्तीकी ३० वर्षीया ललिता सदा मुसहरले भन्नुभयो , “एसइइ उतीर्ण गरें , अब आफू पढेकै बर्दिबास–२ स्थित जनता माध्यमिक विद्यालयमै ११/ १२ सक्छु ।” पढ्ने र पछि शिक्षक भएर शिक्षाको अवसरबाट निकै पछि रहेका आफ्ना जाति समुदायलाई विद्यालय जान उत्प्रेरित गर्ने आफ्नो सपना रहेको उहाँको भनाइ छ ।
बाबु, आमा र पति सबै निरक्षर ! मधेशमा अत्यन्त पछि परेको जाति समुदाय । घरमा पतिसहित दुई छोरा । यी कुनै बन्धनले ललिताको पढ्ने रहरलाई अहिलेसम्म छेक्न सकेन । ज्यालामजदुरी गरेर जिविका धान्ने आम मुसहरजस्तै ललिताको पनि जीवन छ । कलिलै उमेरमा विवाह गरेकी ललिताका १४ र १२ वर्षका दुई छोरा छन् । जेठा ब्रह्मदेव छ कक्षा र कान्छा रोहन पाँच कक्षामा पढ्छन् । विद्यालयमा १० कक्षा पढुञ्जेज बिहानको एक लगनी काम गरेर दुबै छोरा सँगसँगै लिएर विद्यालय जाने गर्नु भएकी उहाँले यसपालि एसइइ उतीर्ण हुनु आफ्नो मेहनत र सङ्कल्पको फल भएको बताउनुभयो ।
माइतमै घरजम गरेर बसेकी उहाँलाई प्रत्येक वर्षजसो हुने विद्यालय भर्ना अभियानमा जोडिएर पढ्न जान थालेको सम्झना छ । नियमित विद्यालय जाँदा अरुले झैं म पनि पढ्छु भन्ने इच्छा जागेर नै पढाइलाई निरन्तरता दिएको उहाँ बताउनुहुन्छ । “पहिलो त मेरै सङ्कल्प हो, अनि विद्यालयका गुरुजन र घरमा पतिको पनि राम्रो भरथेग र माया पाएँ” ललिता भन्नुहुन्छ, “अब झन् चासोे राख्ने र पढ्न आँटभरोस दिने बढेका छन् ।” खासमा आफ्नै बस्तीका जिल्लामै स्नातकोत्तर गर्ने पहिलो मुसहर मञ्जय सदाले सधैं पढ्न हौसला दिने गर्नुभएको र उहाँकै हौसलाले पढाइलाई निरन्तरता दिदै एसइइ उतीर्ण हुन सकेको ललिताको भनाइ छ ।

बस्तीसँगै जोडिएको विद्यालय भएपनि यहाँका मुसहर पढ्ने कुरा आफ्नो नभएको ठान्दथे । विक्रम सम्वत् २०७३ सालमा सरसफाइ सचेतना अभियानका क्रममा हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) बर्दिबास–१४ को मुसहर बस्ती पुगेपछि यसले रुप फेर्ने अवसर भेट्यो । बस्तीको गरिबी र अशिक्षाले द्रवित भएका कलाकार दम्पतिले धुर्मुस सुन्तली फाउण्डेसनका माध्यमले नमुना बस्ती बनाएर एक वर्षभित्रै शौचालय, धारा र बिजुली सुविधासहितको पक्की घर ५० परिवार मुसहरलाई हस्तान्तरण गरेसँगै सङ्गत र सचेतना अभियानको प्रभावले यहाँका बासिन्दा अब शैक्षिक, सामाजिक र आर्थिक गतिविधिमा सरिक हुन थालेका छन् ।
अहिले बढ्दै गएर यहाँ करिब ८० परिवार मुसहर छन् । बस्तीमा उच्च शिक्षा (स्नातकोत्तर) गर्ने मञ्जय जिल्लाकै पहिलो मुसहर र ललिता माध्यमिक शिक्षा परीक्षा उतीर्ण गर्ने बस्तीकी पहिलो महिला बन्नुभएको छ । “ममात्र पढ्न जाने भन्ने होइन नि ! बस्तीका आम बालबालिकालाई डोर्याएर विद्यालय लाने गरेकी छु ” ललिता भन्नुहुन्छ, “अहिले बस्तीबाट ७० माथि बालबालिका विद्यालय जाँदैछन् , यिनीहरुको पढाइ निरन्तरताका लागि मञ्जय र म सधैं घरघर पुग्ने गरेका छौं ।” बस्तीका बालबालिकामध्ये चार जना कक्षा–८ , एक जना कक्षा–७ र अरु पाँच कक्षा मुनिका रहेका उहाँले बताउनुभयो । विद्यालय जाने बालबालिकामा छोरीको सङ्ख्या ५० भन्दा माथि रहेको उहाँको भनाइ छ ।

शिक्षामा बढेको यो जागरणसँगै यहाँका बासिन्दा अब आर्थिक गतिविधिमा सरिक हुँदै सञ्चय गर्ने, अस्पताल जाने र आफ्ना समस्याबारे नगर र वडा कार्यालयमा पुगेर जनप्रतिनिधिसँग छलफल गर्ने गरेका बस्तीका शैक्षिक अभियानी मञ्जय सदा बताउनुहुन्छ । यसैगरी ललिता अब बालविवाहजस्तो सामाजिक कुप्रथाविरुद्ध जनमत बनाउन आवश्यक रहेको औंल्याउनुहुन्छ ।
“हेनोस् न, १५ वर्ष नपुग्दै धेरैजसोले विवाह गर्छन् , २० वर्ष नपुग्दै दुई/ तीनवटा सन्तानको आमा बन्छन्” यसै परिवेशबाट गुज्रेकी उहाँ भन्नुहुन्छ, “यो चलन हाम्रो व्यक्ति र जाति समाजको विकासको वाधक बनेको छ ।” कम उमेरमै आमा बनेपछि अनेकौं स्वास्थ्य समस्याले मुसहर समुदायका महिलाको अवस्था नाजूक बनेको उहाँको ठम्याइ छ ।
ललिताको अब अगाडिको पढाइमा विद्यालय र ओरपरका समाजले चासो लिएका छन् । “उनको पढाइमा हामी सकेको मद्दत गर्छौ” जनता माध्यमिक विद्यालय बर्दिबास–२ का प्रधानाध्यापक तोपबहादुर ठकुरी भन्नुहुन्छ, “ललिता अनुशासित र मेहनती छन् , यिनी राम्रो गर्न सक्छिन् ।”
बर्दिबास–१४ को बस्ती धुर्मुस सुन्तलीले फेरि दिएपनि आम रुपमा बाँसको खाँबा र झिक्राझिक्रीको बार (बेराघेरा) का भित्ताको भरमा अडिएका पराले छानाका झुप्रा आम मुसहरको घर संसार देखिन्छ । मुसहरका लागि ‘कमाइ ल्यायो, भुटी खायो’ भन्ने आहान प्रचलित छ । मुख्यत कृषि मजदुरी पेसाका मुसहरमा बिहान मजदुरी गर्ने र दिउँसो घोङी (सङ्खे कीराजस्तो मुसहरको खास परिकार) , मुसा र माछा मार्न जाने आम चलन छ । भोलि के खाने भन्ने र भविष्यलाई सञ्चय गर्नुपर्छ भन्ने ध्याउन्न नै नपाल्ने हुँदा आफ्नो जातिका लागि ‘कमाइ ल्यायो, भुटी खायो’ भन्ने आहान बनेको पाका मुसहर नै बताउँछन् । अबभने यो अवस्था फेर्नै पर्ने ललिताको अठोट छ ।
जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतहका सबैजसो बस्तीमा धेरथोर बसोबास रहेका मुसहरका घर जोसुकैले सहजै ठम्याउँछन् । भिक्राका भित्ता, बाँसका खाँबा र पराले छानाका गुजुमुज्ज भुप्रा देखिएपछि अपरिचित जोसुकैले मुसहर बस्ती रहेछ भन्ने लख काट्छन् । पछिल्लो राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा २७ हजार ३५२ मुसहर जनसङ्ख्या छ । यो जिल्लाको कूल जनसङ्ख्या सात लाख छ हजार ९९४ को लगभग ३.८७ प्रतिशत हिस्सा हो । अहिले पाँच वर्षपछि यो जनसङ्ख्या ३० हजारको हाराहारी पुगेपनि यो जाति समुदाय शिक्षामा निकै पछि रहेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय महोत्तरीका प्रमुख निर्मल घिमिरे बताउनुहुन्छ । यो जाति समुदायबाट उच्च शिक्षा लिने र माध्यमिक शिक्षा परीक्षा उतीर्ण गर्नेको सङ्ख्या हातकै औंलाबाट गणना हुने घिमिरेको भनाइ छ ।
मुसहर जाति समुदायका बालबालिकाको शिक्षामा पहुँच बढाउन विशेष पहलकदमी हुन पर्ने माग बढेको छ । यो जाति समुदायका बालबालिकालाई विद्यालयमा टिकाउन बस्तीबस्तीमै अतिरिक्त शिक्षाको प्रबन्ध सम्बद्ध स्थानीयतहले गर्नुपर्ने मुसहर समुदायका अगुवा बताउँछन् । “अब नानीहरु पढाउन पर्छभन्ने चेत त बढेको छ” बर्दिबास–१४ को नमुना मुसहर बस्तीका शैक्षिक अभियानी मञ्जय सदा भन्नुहुन्छ, “विद्यालयमा नाम लेखाएपनि पढाइमा आफू निकै कमजोर रहेको हीन भावनाले मुसहर बालबालिका विद्यालय छाड्ने गरेका छन् ।” यो अवस्था अन्त्यका लागि मुसहर बस्तीमा स्थानीयतहले अतिरिक्त कक्षा सञ्चालनले सहयोग पुग्ने उहाँको ठम्याइ छ ।
यसैगरी विद्यालयमा पाँच कक्षासम्मलाई दीवा खाजाको व्यवस्था भएपनि त्योभन्दा माथि कक्षाका बालबालिका भोक थेग्न नसकेर घर भाग्ने गरेका मञ्जयले बताउनुभयो । “एक दिन बनी गर्न नगए भरे भोकै परिने अवस्था छ, बाबुआमा खाजा खाने पैसा दिन सक्दैनन्” उहाँ भन्नुहुन्छ, “यो समुदायलाई शिक्षासहित विकासका मूलप्रवाहमा ल्याउने हो भने त थप प्रयत्न गर्नु पर्यो नि ! यसको पहलकदमी स्थानीयतहले लिन पर्छ ।” यो व्यवस्था गर्नसके मुसहर बालबालिकामा गुणात्मक सुधार आउने उहाँको भनाइ छ ।


