असार-१५, दिनले त आयो क्या र !
मनले आउन त,
विकाउ काकाकाे जग्गा बाँझै छ ।
न पानी , न मल समयमा , न बीउ नै ब्याडमा हुर्कन पायाे राम्ररी ।
जेठ बित्दै गर्दासम्म धानकाे बीउ खाेज्न बजारबजार चाहारे काकाले,
भर परेर हैन, एउटा ब्यापारीकाे पसलबाट बीउ किनेर माटाेमा मिलाएका छन् उनले ।
भराेसा, नदेखिएका नचिनिएका भगवानमै छ,
के गरुन् ? मन अड्याउने एउटा ठाउँ त चाहिने रहेछ ।
यी गरिब बस्तीका किसान विकाउ काका,
न कसैलाई कमिसन बुझाएर याेजना ल्याउन सक्छन् ,
न कुलाे पुगेकाे छ खेतमा, न इनार बाेरिङ्ग नै छ,
यसपालिकाे असारे १५ धुले मनाउने उनकाे नियति बनेकाे छ
भाेट त बेलाबेलामा उनले इनार खन्दिन्छु भन्नेलाई दिदै आएकै हुन् ,
तर अहिले असारे १५ ताका त कुनै चुनाव परेकाे छैन,
त्यसैले विकाउकाकाले धुले असारे १५ मनाउन परेकाे विवशता पनि पाेख्न पाएका छैनन् ।
विचरा विकाउ काका ।।
असारे १५ का गीत रेष्टुरेन्टमा घन्कदा छन् ,
ठूलठूला हाेटलमा असारे-१५ काे सेमिनार चल्दाे छ,
मन्त्रीकाे विकास भाषण रेष्टुरेन्टका परिकारसँग मिसिदा छन् ।
तर विचरा विकाउ काका ब्याडमा मर्दै/
बाैरदै गरेकाे बीउ सुमसुम्याउँदै ,
धुलाे बुङ्बुङ्ती उडेकाे खेतमा उभिएर, आकास ताक्दैछन् ।
उनकाे न सरकार छ ,, न सराेकार राख्ने काेही छन् ,
एउटा त्यान्द्राे आस झुण्डिएकाे छ, भरे खेत हिल्याउन पानी पर्दिए….
अनि असार-१५
हिलाेमा दलिन पाए ।
आसै त हो,
विचरा विकाउ काका ।।—

सन्दर्भ- राष्ट्रिय धान दिवस-२०८३

(प्रगतिशील लेखक सङ्घ मधेश प्रदेशले राष्ट्रिय धान दिवस-२०८३का अवसरमा धनुषाकाे मिथिला-९ मा गत शनिबार आयोजना गरेको ‘साहित्यिक विमर्श तथा रचना वाचन’ कार्यक्रममा वाचित गद्य कविता)


२०८३ असार १५, सोमबार १०:०८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय