महाेत्तरी, २२ असार ।

विषालु सर्पकाे बिगबिगी हुने महाेत्तरीकाे बर्दिबास आसपासका क्षेत्रमा केही वर्षयता सर्पदंशकाे उपचार लिने घटेका छन् । बर्दिबास-३ गाैरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा पछिल्ला चार वर्षयता उपचार लिनेकाे सङ्ख्या निकै घटेकाे तथ्याङ्कले देखाएकाे हाे ।

विक्रम सम्वत् २०७१ साल साउन ३१ गतेदेखि सेवा थालेकाे केन्द्रमा आर्थिक वर्ष २०७९/०८० यता उपचार लिनेकाे सङ्ख्या निकै घटेकाे छ । त्यसअघि वर्षमा चार हजार बढीले उपचार लिने गरेका केन्द्रमा २०७९/०८० यता याे सङ्ख्या एक हजार मुनि झरेकाे छ । केन्द्रमा आव २०७९/०८० मा ८७८ , आव २०८०/०८१ मा ८८४ र आव २०८१/०८२ मा ७०२ जनाले उपचार लिएका छन् । यस्तै अहिले समाप्तकाे चरणमा रहेकाे जारी आव २०८२/०८३ को हाल(असार २० गते) सम्मकाे अवधिमा ७२२ जनाले उपचार लिएका उपचारमा संलग्न नेपाली सेनाकाे प्राविधिक टाेलीका प्रमुख भाेला चाैधरीले जानकारी दिनुभयाे ।

केन्द्रमा स्थापनायताका वर्षमा सबैभन्दा बढी आव २०७७/०७८ मा चार हजार १९१ जनाले उपचार लिएका छन् । यसैगरी आव २०७६/०७७ मा तीन हजार ९४७, आव २०७८/०७९ मा तीन हजार ९३२,आव २०७५/०७६ मा तीन हजार ६४१, आव २०७४/०७५ मा तीन हजार ५४२, आव २०७३/०७४ मा तीन हजार ३९४, आव २०७२/०७३ मा तीन हजार ३१० र आव २०७१/०७२ मा तीन हजार १२८ जनाले उपचार सेवा लिएका छन् । स्थापनाकालदेखि हालसम्म जम्मा ३२ हजार २७१ जनाले उपचार लिएका केन्द्रकाे अभिलेखमा उल्लेख छ ।

पछिल्ला चार वर्षमा आसपासका धेरै ठाउँमा सर्पदंश उपचार सेवा सञ्चालनमा आउनु र सहरीकरण बढ्दै जाँदा सर्पले ठाउँ छाेड्दै गएपछि घटना कम हुनसँगै उपचार लिनेकाे सङ्ख्या घट्दै गएकाे प्राविधिक टाेलीका प्रमुख चाैधरीकाे भनाइ छ ।

एकदशकअघिसम्म विषालु सर्पकाे खानी भनिने बर्दिबास नगर क्षेत्रमा सर्पदंशका घटना निकै भएपछि सामुदायिक प्रयत्नबाट सर्पदंश उपचार केन्द्रकाे स्थापना गरिएकाे हाे । केन्द्रमा स्थापनाकालदेखि नै नेपाली सेनाका दक्ष प्राविधिक टाेलीले उपचार सेवा दिदै आएका केन्द्रका अध्यक्ष कृष्णप्रसाद देवकाेटा बताउनुहुन्छ । केन्द्रले स्थापनाकालयता हालसम्म उपचार लिन आएमध्ये ६७ जनालाई मात्र अन्यत्र रेफर गरेकाे देवकाेटाकाे भनाइ छ ।


२०८३ असार २२, सोमबार १८:५४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय